सुनिल चौधरी
झुम्का, पुष ४ । मंसिर पूर्णिमामा आइतवार नयाँ उत्पादन भएको अगहनी ननिहा धान र चामलको परिकार चढाएर थारु समुदायले “नेमान” पूजा मनाएको छ । अन्नबाली भित्र्याएको अवसरमा अगहनी धानको धुनी जगाउने र चामलको लड्डु, फलफुल, अक्षता लगायत गुरा परिकार बनाएर कुलदेवतालाई विधिवत चढाई थारु समुदाय “नेमान” पूजा मनाएको हो । “नेमान”लाई बोलीचालीमा “नेमानी” पनि भन्ने गरिन्छ ।
खेतीपाती राम्रो होस भनी असारमा अखारी र अन्नबाली पाकेपछि मंसिर पूर्णिमामा “नेमान” पूजा मनाउने प्रचलन रहेको छ । थारु संस्कार अनुसार घरमा कुलदेवता र बाहिर ग्रामथानमा “नेमान” पूजा गर्ने पौराणिक मान्यता रहेको छ । “नेमान” पूजा पछि उत्पादन गरेको नयाँ अन्न बाली खान सुरु गर्ने परमपरा रहेको छ । “नेमान” पूजा मौलिक संस्कार मानिन्छ । यस पूजामा अगहनी धानलाई चिउरा बनाएर सो चिउरालाई भुटेर बनाएको भुजालाई ओखल (ओखरी) मा कुटी सखर (गुर), नरिवल, छोहरा, सोप र दुध मिश्रणगरी बनाएको लड्डु चढाउने प्रमुख बिशेषता रहेको छ ।
पूजाको अर्को प्रमुख बिशेषता अगहनी चामलमा दुध र सखर मिसाएर गुरा बनाई समेत चढाउने गरिन्छ । “नेमान” पूजामा कुलदेवताको घर बाहिर धुनी जगाउने गरिन्छ । गोबर र धानको भुसले बनाएको चिपरी र धानको डाँठले धुनी जगाउने चलन रहेको छ । यसले घर वरिपरि रहेको अनिष्टलाई हटाउने र वातावरण स्वच्छता राख्ने धार्मिक मान्यता रहेको छ । चिपरी तिहारको भाइ टिकाको दिन (सुखराइत पर्वको जमजितिया) को दिन बनाएर घेराको फुल चढाई राखिन्छ । सो चिपरी घरको कुलदेवतालाई “नेमान” पूजा चढाउदा धुनी जगाउने मान्यता रहेको छ ।
यसैगरी घरको कुलदेवतालाई विधिवत पूजा गरे संगै ग्रामथानमा समेत “नेमान” पूजा गर्ने गरिन्छ । “नेमान” पूजाको दिन ग्रामथानको चारै कुना र बाहिर रहेको देवताको स्थानमा नयाँ उब्जाएको अगहनी धानको डाँठको मुठा बनाएर झुण्ड्याउने गरिन्छ । यस प्रकारले झुण्ड्याइ पूजा गर्नाले देवता र प्रकृतिलाइ भोग लाग्ने मान्यता रहेको छ । अगहनीधान भोग लगाउनाले आगामी बर्षहरुमा उत्पादन बृद्धि हुने र घरमा अन्न भरीभराउ रहिरहने बिश्वास रहेको रामधुनी वडा नं. १ नयाँटोल भादगाउँका धार्मिक कार्यमा भजन गर्दै आएका ६५ बर्षिय ग्रामथान संरक्षक गुजकलाल चौधरीले जानकारी दिए । उन्का अनुसार ग्रामथानको पूजामा बच्चा देखी बृद्ध सम्म भेला हुने गरिन्छ । ग्रामथानको “नेमान” पूजामा साँझ सामुहिक भेला भएर साँझबाती देखाएर लड्डु चढाइ भजन गर्दै अगहनी धानको चिउरा र दहि मिश्रणगरी बनाएको प्रसाद ग्रहणगरी पूजा समपन्न गर्ने गरेको बताए ।
खेती किसान गर्ने थारु समुदायको ऐतिहासिक रुपमा रहेको मौलिक “नेमान” पूजा भने राज्य र संचार माध्यममा महत्व नपाएको देखिन्छ । मंसिर पूर्णिमामा मनाउने अन्य पर्वहरुको बृहत उठान हुने गरेपनि “नेमान” पूजा पर्वकै रुपमा मनाउदा प्रचार प्रसार अभावले राज्य र मिडियामा स्थान नपाएको सौनधामी ग्रामथान पूजारी सिताराम चौधरीको गुनासो रहेको छ ।
