राख संवाददाता
झुम्का, कार्तिक १४ । आस्थाको महापर्व छठपर्व अन्तर्गत व्रतालुहरूले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नं. ८ टेंग्राटोली स्थित साँस्कृतिक जितिया घाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरेका हुन् ।
जितिया घाटमा छठ घाट लगाई पूजाअर्चना सहित ब्रतालुहरु जाग्रामगरी छठ तथा सूर्य भक्ति गरेका छन् । छठको पहिलो दिन भाकल पूरा भएका व्रतालुहरुले घर देखि छठ घाट सम्म दण्ड प्रणाम सहित पूजाअर्चना गरेका छन् । भाकल पूरा भएका सुमन चौधरी, अहिल्या चौधरीले घर देखि घस्रिदै छठ घाट सम्म दण्ड प्रणाम गरी व्रत गरेको जितिया घाटका संरक्षक तथा ग्रामथान संरक्षण समितिका सचिव साबित्री चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार जितिया घाटमा परमपरागत रुपमा जितिया पर्वको पूजापाठ, छठ, समाचकेवा विर्सजन लगायतका धार्मिक अनुष्ठाका कार्यहरु गर्दै आएकोले जतिया घाट साँस्कृतिक र मौलिक परम्पराका सम्पति रहेको चौधरीले बताउँनु भयो ।
छठ पर्व मूलविधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदोसूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी पर्वको समापन गर्ने परम्परा रहेको छ । अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञता मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाहरूको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउँने र उदाउँने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिएको समितिका सचिव चौधरीले धारणा ब्यक्त गर्नु भयो ।
