सुनिल चौधरी
झुम्का,मंसिर २५ । बालाचतुर्दशीको अवसरमा आफनो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै रामधुनी मन्दिरमा लाखौँ भ क्तजनले शतबीज छरेका छन् । आइतवार बेलुका देखिनै आएका भक्तजनहरु जाग्राम र भजन किर्तनगरी दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सोमवार बिहानै शतबीज छरेका हुन् ।
रामधुनी मन्दिर शक्ति पिठ तथा सााक्षत्कार राम भगवान बसोवास गरेको देव स्थरल रहेकोले आमाको नामबाट उहाँको आत्माको शन्तिको कामना गर्दै दिपदान र शतबीज छर्न आएको उदयपुर बेलटारबाट आएका टंकप्रसाद न्यौपानेले बताए । धार्मिक परम्परा अनुसार बालाचतुर्दशीका दिन शतबीज छर्नाले दिवङ्गत पितृहरूको उद्धारहुने बिश्वासले रामधुनी मन्दिरमा छर्दै बराहक्षेत्र मन्दिरमा जाने न्यौपानेले बताएका हुन् ।
सुनसरी प्रकाशपुरबाट आएका चन्द्र मण्डलले पितृहरुको सम्झना गर्दै रामधुनी मन्दिरमा शतबीज छरेर बालाचतुर्दशी मनाएको बताए । परिवारमा कुनै अष्ठि नहोस, सम्भावित दुर्घटना नहोसको कामना गर्दै छतबीज छर्न आएको बताए । शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छरेको मण्डलले बताएका हुन् ।
यस बर्ष बालाचतुर्दशीको अवसरमा रामधुनी मन्दिरमा २ लाख भन्दा बढी भक्तजनले दर्शन गरेको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्ष डिल्ली कार्कीले जानकारी दिए । आइतवार आएका भक्ताजनहरुलाई बस्न तथा खानाको व्यास्था गरिएको बताए । रातभरी तथा मेला अवधिभरी प्रहरीको सुरक्षा व्यवस्थापन गरिएको थियो । यसैगरी आदिवासी थारु जाति, उराँव समुदायको लोप अवस्थामा रहेको परम्पराका संस्कारहरु खरखरीया, बैलगाडी, पौराणिक लोकनृत्यहरु प्रदर्शन गरेको व्यवस्थापन समितिको अध्यक्ष कार्कीले जानकारी दिएको हो ।
सुनसरी जिल्लाको रामधुनी नगरपालिका वडा नं. ४ रामधुनीे जंगलको मध्यक्षेत्रमा अवस्थित धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो रामधुनी धार्मिकस्थल । जहाँ हरेक रामनवमी, बालाचतुर्दशीको दिन ठूलो मेला लाग्ने गर्छ । झुम्काबजारबाट करिब ७ किलोमिटर उत्तरमा रहेको सो क्षेत्रमा त्रेतायुगदेखि रामधुनीस्थल रहेको छ । भगवान रामचन्द्र वनवास गएकाबेला सुनसरीको पवित्र सो क्षेत्रमा आएर एकरात बास बस्दा जलाएको अखण्ड धुनी अद्यापि जलिरहेको विश्वास छ । पूर्वाञ्चलकै प्रसिद्ध तीर्थस्थलकोरुपमा स्थापित रामधुनी मन्दिरमा बाल ब्रह्मचारी पूजारी रहँदैआएका छन् । अहिले त्यहाँका पूजारी काशीदास उदासी (थारु) रहेका छन् ।
रामनवमी, विवाह पञ्चमी, वालाचतुर्दशी र अन्यबेलामा पनि धर्मावलम्बीहरुको घुइँचो लाग्नेगर्छ । नेपाल गुठी संस्थानअन्तर्गत रहेको सो धार्मिकस्थलमा दैनिक धर्मावलम्बीहरु पुग्ने गर्छन् । आन्तरिक तथा बाह्य धार्मिक पर्यटनको पूर्वाञ्चलकै केन्द्रकोरुपमा सो क्षेत्र स्थापित भइरहेको छ । वर्षेनी लाखौं धर्मावलम्बीहरु त्यहाँ पुग्नेगरेको पूजारी काशीदास उदासीले बताए । नेपाल, भारत, भूटानका धर्मावलम्बीहरु त्यहाँ आउनेगरेको पूजारी उदासीको भनाई छ । जीवनभर सो मन्दिरको संरक्षण र भगवानको पूजापाठमा विताउने मेरो लक्ष्य छ उदासीले भने । उदासी १३ वर्षको उमेरदेखि सो मन्दिरको सेवा गर्दैआएका छन् ।
भगवान रामको पाउ स्पर्स भएको यस पवित्र भूमिमा तत्कालिन समयमा ध्यानमा लिन बाबा बनखण्डीले सो अखण्ड धुनीलाई निरन्तर जलाएका थिए । भगवान राम त्यहाँ आउनुअघि नै बाबा (ऋषि) बनखण्डीले धुनी जलाएर तपस्यामा लिन रहँदैआएको किंवदन्ती पनि छ । सो धुनीबाट निस्केको खरानीलाई प्रसादकोरुपमा मन्दिरबाट आगन्तुकलाई दिने प्रचलन छ । रामधुनी मन्दिरको दर्शन गर्ने र धुनीबाट जलेको खरानी प्रसादकोरुपमा ग्रहण गर्नाले मनले चिताएको फल प्राप्त हुनेगरेको विश्वास धर्मावलम्बीहरुबीच छ । भगवान राम त्यहाँ आउँदा राजकुमारी विदिन्यूलाई भेटेको जनश्रुती छ ।
सो धार्मिकस्थल रामधुनीमा मुख्यगरी धुनी मन्दिर र दरवार मन्दिर छ । धुनी मन्दिरमा सधैं सालको मूढो सल्काएर राख्ने प्रचलन छ । त्यो जलिरहन्छ र त्यसबाट निस्कने खरानी नै धर्मावलम्बीका लागि मुख्य प्रसाद हो । त्यस्तै, दरवार मन्दिरभित्र शिवलिङ्ग, दुर्गा, चन्द्र र सिंह, बाबा बनखण्डीको मूर्ति राखिएको छ । घना सालको जंगलबीचमा अवस्थित सो मन्दिर क्षेत्रमा एकदिन बाबा बनखण्डीले आफ्नो चिम्टा रोपेर सालको रुखलाई आँपको वृक्षमा परिणत गरेका थिए । अहिले मन्दिर परिसरमा ठूलठूला आँपका रुखहरु हेर्न पाइन्छ । साल र आँपका ठूला र पूराना रुखहरु सँगसँगै लहरै रहेका छन् । केही समयसम्म मन्दिर परिसरका आँप र सालका रुख काट्दा रगत आउने गरेको मन्दिरका पूजारी उदासी सम्झिन्छन् ।