रामधुनी खबर संवाददाता
झुम्का,कार्तिक १७ । रामधुनी नगरपालिकाको पहिचान गराउँने र प्रमुख बजारको रुपमा रहेको झुम्का बजार अव्यवस्थित बारेमा सरोकारवालाहरुले गुनासै गुनासा गरेका छन् । रामधुनी नगरपालिकाले सोमवार गरेको झुम्का बजार व्यवस्थापन सम्बन्धी छलफलमा बजार व्यवस्थापनमा नगर पालिकाको ध्यान नगएको भन्दै गुनासो गरेका हुन् ।
नगर प्रमुख शंकरलाल चौधरीको सभाध्यक्षतामा गरिएको छलफलमा सहभागी सरोकारवालाहरुले झुम्का बजार अन्तर्गत रहेको क्षेत्रमा ट्राफिक अव्यवस्थित, साप्ताहिक हाट बजार तथा झुम्का बजारको सरसफाइमा ढिला सुस्ती, राजमार्ग तथा हटिया जाने बाटो मै अव्यवस्थित रुपले फुटपाथ पसल राख्ने, राजमार्ग छेउ सवारी आवागमनको अबरुद्ध हुनेगरी राखेको फुटपाथ तथा फलफुल पसल, अव्यवस्थित पूर्व पश्चिम बसस्टेन, सिटि सफारी पार्किङ्ग, म्याजिक टेम्पो स्टेन, बजारमा हुने हिलो, पानी निकासा नहुने, आखाद्य बस्तु विक्रि वितरण गर्ने, कृषि बजार सम्बन्धित कार्यको प्रयोग विहिन, पोल बत्ती बिग्रिएको, सिसि टि.भि. जडान गरेपनि प्रयोग विहिनताको प्रमुख समस्याहरुको बारेमा गुनासो उठान गरी तत्कालै सामाधान गर्नु पर्ने आग्रह गरेका छन् ।

कृषि बजारमा कृषि उपयोगका लागि बनाएको टहरा कृषि उपयोग विहिन रहेकोले यसमा ध्यान जानु पर्ने सुझाव दिदै टहराको भाडामा चलखेल भैरहेकोमा नगरपालिकाले खोजीगरी कारवाही गर्नु पर्ने माग गरेका छन् ।
सहभागी सरोकारवालाहरुले यो समस्या पहिले जे थियो अहिले पनि यथावतनै रहेकोले कहिले परिवर्तन हुने जनप्रतिनिधिलाई सवाल गर्दै पटक पटक सुचना र सचेत गराएपनि अवज्ञा र अटेर भएको हुँदा कडा कारवाही सहितको कार्यन्वयन गर्न सहभागीहरुले सुझाव दिएका छन् ।
छलफलबाट आएका गुनासोहरुलाई तत्कालै सुचना प्रवाह गरेर सामाधानमा लाग्ने मेयर शंकरलाल चौधरीले प्रतिबद्धता गर्नु भएको छ । उहाँले झुम्का बजार सहित रामधुनी नगर कै सुन्दरतामा काम गरिरहेको भन्दै थप काम गर्न अग्रसर रहने बताउनु भएको छ ।
उपमेयर तारा थापाले सहभागीबाट आएका समस्याहरुलाई सामाधान गर्न धारणाहरु प्रस्तुत गर्दै सामाधानका लागि प्रतिबद्धता गर्नु भएको छ ।

यसैगरी नगरपालिकामा नव पदभारमा आउनु भएको प्रमुख प्रशासकिय अधिकृत तेजनारायण यादवले समस्याहरुको बारेमा जानकारी लिनु भएको छ । यस समस्यालाई तत्काल गर्नु पर्ने सामाधान तत्कालै गर्ने र दिर्घकालिन समस्यालाई योजनाबद्ध रुपले सामाधानको कार्य गर्ने बताउनु भयो । उहाँले यस समस्यालाई सामाधानका लागि परिस्थती जन्य बजेट निर्धारण गरेर पनि सामाधान गर्ने छौँ भन्दै तत्कालै कार्य योजना अगाडि बढाउन सबै कर्मचारीलाई समेत निर्दैशन दिनु भएको छ ।
झुम्का बजारको थप समस्या निक्यौल गर्न ५ नं. वडाका वडाअध्यक्ष भोला वास्तोलाको संयोजकत्वमा समिति गठन गरेको छ । ११ सदस्य रहनेगरी समिति गठनले अनुगमन, समस्या पहिचानगरी सुझात्मक योजनाहरु दिनेछन् ।
वडाअध्यक्ष वास्तोलाले वडा तथा नगरपालिकाबाट कार्य योजना अगाडि बढाए पनि सम्बन्धीत सरोकारवालाहरुबाट सहयोग नपाएको बताउनु भयो । तसर्थ आगामी कार्ययोजनामा सरोकारवालाहरुको साथ सहयोगको अपेक्षा गर्नु भएको छ ।
यसैगरी रामधुनी नगरपालिकाबाट सुचना गरिएको छ । झुम्का बजार तथा साप्ताहिक हाट बजार व्यवस्थापन सम्बन्धी सुचना गरिएको छ । झुम्का बजार अन्तर्गत क्षेत्रमा पूर्व पश्चिम लोकमार्ग अवरुद्ध हुनेगरी फलफुलका पसल, पसलका आगाडी बिक्री बितरणका सामान, निर्माण सामार्गीहरु लोकमार्गको दुवै तर्फको नाला बाहिर नराख्न सुचना गरिएको छ ।
सिटि सफारी, म्याजिक अटो लगायत अन्य सवारीका साधनहरु झुम्का बजारको मुख्य चौकमै सडक अवरुद्ध हुनेगरी जथाभावी पार्किङ्ग नगरी तोकिएको स्थानमा मात्र पार्किङ्ग गर्न जानकारी गराइएको छ ।
शनिवार र बुधवार लाग्ने साप्तहिक हाट बजार जाने बाटोमा फुटपाथ पसल नलगाउन हुन अनुरोध गरिएको छ । यस सुचनाको अवज्ञा भएमा कुनै पनि वेला कारवाही भै जाने व्यहोरा सम्पूर्णमा जानकारी गराएको छ ।
रामधुनी नगरपालिकाबाट झुम्का बजार व्यवस्थापनमा योजना ल्याए पनि योजनाको प्रभावकारी अनुगमन, निरन्तरता हुन सकेको छैन् । पटक पटक सुचना गरिएको छ । अवज्ञा र अटेर हुँदै गएकोले यस अनुगम र निरन्तरतामा ध्यान दिनसके निस्चैनै यो समस्या दोहोरीने थिएन होला की । यो सम्पूर्णमा ध्यान जाओस ।
छलफलमा जनप्रतिनिधि, कार्यपालिका सदस्य, प्रहरी प्रतिनिधि, झुम्का उद्योग बाणिज्य संघ, व्यापारी, व्यवसायी, यातायात व्यवसायी संघ, स्थानीय, कर्मचारी, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । छलफल कार्यक्रम प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनी झुम्कामा भएको थियो ।






