रामधुनी खबर संवाददाता
झुम्का, कार्तिक २८ । सूर्य उपासनामा आधारित छठ पर्वको आगमनलाई स्वागत गर्दै शुक्रबार झुम्का स्थित छठ घाटमा कलश यात्रा सहित महाआरती तथा गंगाआरती सम्पन्न गरिएको छ । रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाको सहभागितामा १५औँ कलश यात्रा तथा तेस्रो महाआरती एवं गंगाआरती आयोजना गरिएको हो ।
श्री छठ माता सेवा समिति रामधुनीको आयोजनामा भएको कलश यात्राले झुम्का बजारलाई धार्मिक तथा सांस्कृतिक उत्सवमय बनाएको छ ।

बजार क्षेत्रमा निकालिएको कलश यात्रा लायन्स चोक हुँदै शिवचोक सम्म परिक्रमा गरी सुनसरी–मोरङ सिँचाइ आयोजनाको झुम्का नहर स्थित छठ घाटमा पुगेर विधिवत् पूजापाठ सहित कलश विसर्जन गरिएको छ ।
समितिका अध्यक्ष मिलन रौनियारको सभापतित्वमा आयोजित कार्यक्रममा झुम्का छठ घाटको धार्मिक तथा सांस्कृतिक महत्त्व अभिवृद्धि गर्ने उद्देश्यले महाआरती तथा गंगाआरती समेत गरिएको छ । शुक्रबार साँझ देवीदेवताको आह्वानसहित सम्पन्न आरतीले छठ घाटको वातावरण भक्तिमय बनेको थियो ।
ऐतिहासिक छिन्नमस्ता भगवती मन्दिरका गुरु तथा वाराणसी (बनारस) का गुरुहरूको सहभागितामा तेस्रो दिव्य सूर्य महाआरती एवं गंगाआरती सम्पन्न गरिएको आयोजकले जनाएको छ ।

छठ पर्वमा बाँसबाट बनेका ढाकी, डगरी, माटोका कोसिया–कुरबार, हात्ती लगायतका सामग्री प्रयोग गरी सूर्यदेवलाई अघ्र्य अर्पण गर्ने परम्परा रहेको छ । ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा, विभिन्न तरकारी, मिठाई तथा फलफूल प्रसादका रूपमा चढाइन्छ ।
छठ पर्वमा व्रतालुले करिब ४८ घण्टासम्म अन्न तथा पानीसमेत त्यागेर कठोर व्रत बस्ने धार्मिक परम्परा रहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिने यस पर्वलाई निष्ठा, आस्था र कठोर साधनाको पर्वका रूपमा लिइन्छ । सूर्यदेवलाई चढाइएका सामग्री प्रसादका रूपमा ग्रहण तथा वितरण गर्ने परम्पराले छठ पर्वलाई सामाजिक सद्भाव, पारिवारिक एकता र सामुदायिक सहकार्यको प्रतीकका रूपमा समेत स्थापित गरेको छ ।







