रामधुनी खबर संवाददाता
झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का, बक्लौरी र डुम्राहा बजारमा अनुगमनलाई तीव्रता दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरी र रामधुनी नगरपालिकाको संयुक्त टोलीले बिहीबार र शुक्रबार बजार अनुगमनलाई निरन्तरता दिँदै विभिन्न खाद्य पसल तथा होटलहरूको निरीक्षण गरेको हो। अनुगमनका क्रममा ५५ वटा खाद्य पसलको निरीक्षण गरिएको र उपभोग्य मिति समाप्त भएका विभिन्न खाद्यवस्तु बिक्रीका लागि राखिएको पाइएको छ ।
अनुगमनका क्रममा चारदेखि पाँच वर्षसम्म म्याद गुज्रिएका विभिन्न प्रकारका मसलाका प्याकेट, बिस्कुट तथा अन्य खाद्यवस्तु फेला परेका थिए। त्यस्तै, चटपटेमा प्रयोग गरिने अमिलो झोलमा खाद्य नियन्त्रणसम्बन्धी लेबल नभएको, भारतबाट अवैध रूपमा ल्याइएका चिसो पेयपदार्थ बिक्रीका लागि राखिएको तथा शिशुले सेवन गर्ने गुण नियन्त्रणको लेबल नभएको दुग्धजन्य विक्री गर्ने गरेको समेत निरीक्षणका क्रममा फेला परेको जनाइएको छ ।

होटल तथा खाद्य पसलहरूमा बिक्री गरिने केकमा उत्पादन मिति, उपभोग्य मिति तथा आवश्यक लेबल नराखिएको र सरसफाइमा समेत कमजोरी देखिएको अनुगमन टोलीले जनाएको छ ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने म्याद गुज्रिएका तथा उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु फेला परेपछि ती वस्तु नष्ट गरिएको छ। होटल सञ्चालकहरूलाई खाद्य स्वच्छता र सरसफाइमा विशेष ध्यान दिन सचेत गराइएको छ भने मासु पसलहरूलाई मूल्यसूची अनिवार्य रूपमा राख्न आग्रह गरिएको छ ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मूल्यअनुसार कारोबार गर्न, उपभोक्तालाई स्पष्ट रूपमा मूल्य जानकारी गराउन तथा खाद्यवस्तुको गुणस्तर र सरसफाइ कायम राख्न व्यवसायीहरूलाई पुनः सचेत गराइएको थियो।
यसैबीच, झुम्कास्थित चुनु मासु पसलका बिक्रीकर्ताले मासुको मूल्यबारे आफ्नो धारणा राख्दै बोसो र भुँडी नलिने ग्राहकलाई प्रतिकिलो एक हजार तीन सय रुपैयाँ सम्म पर्ने र बोसो तथा भुँडीसमेत मिसाएर दिँदा प्रतिकिलो एक हजार एक सय रुपैयाँमा उपलब्ध गराउने गरेको जानकारी दिएका छन्। मासुको मूल्य निर्धारण र बिक्री प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने विषयसमेत अनुगमनका क्रममा उठाइएको थियो ।

चाडपर्वका बेला बजारमा खाद्यवस्तुको अभाव हुन नदिन, कृत्रिम मूल्यवृद्धि रोक्न तथा उपभोक्ताको हित संरक्षण गर्नसमेत अनुगमन टोलीले ध्यान दिएको जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि उज्ज्वल कोइरालाले बजार अनुगमनलाई निरन्तरता दिइने जानकारी दिँदै आगामी दिनमा पनि अखाद्य तथा म्याद गुज्रिएका वस्तु बिक्रीका लागि राखेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताए ।
चाडपर्वको समयमा खाद्यवस्तुको कारोबार बढ्ने भएकाले उपभोक्ताले पनि सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र गुणस्तर जाँच गर्न आवश्यक देखिएको छ ।


