राख संवाददाता
झुम्का, कार्तिक ७ । तीन दिन यताको अविरल वर्षाले धानबालीमा पु¥याएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र पुनस्र्थापना गर्न समाजवादी किसान महासंघ १ नं. प्रदेश समितिले सरकारसँग माग गरेको छ । बर्षा, बाढी र डुबानका कारण धान बालीका साथै किसानले उत्पादन गरेका उपजहरु नष्ट भएकोले क्षतिको यथार्थ विवरण संकलनगरी क्षतिपुर्ति दिनुपर्ने माग गरेको हो ।
समितिका प्रदेश अध्यक्ष तेजनारायण चौधरीले आइतवार एक विज्ञप्ति जारी गरेर प्राकृतिक विपत्को व्यवस्थापन तथा न्यूनीकरणका लागि सरकारले अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिएका छन् । ‘वर्षाकै कारण नेपाली कृषक जनताको प्रमुख खाद्यान्न बाली धान भित्र्याउने कार्य प्रभावित भएको छ । काट्न ठिक्क पारिएको र काटेर थन्क्याउने अवस्थाका धान क्षति हुँदा नेपाली कृषक समुदाय पीडामा छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘धानबालीसहित विभिन्न कृषिकार्यमा भएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र पुनस्र्थापनाका निम्ति वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । कृषक जनताको यो पीडामा समाजवादी किसान महासंघ १ नं. प्रदेश समिति साथमा रहेको पनि हामी स्पष्ट पार्दछौँ ।
मुलुकको प्रमुख खाद्ययान्न बालीको रुपमा रहेको धान धेरै परिमाणमा खेतमै नष्ट र क्षति भएकोले आगामी दिनमा भोकमरीको अवस्था सिर्जना भई खाद्यय सुरक्षामा समेत आँच आउने र नेपालको अर्थतन्त्रमा नाकारात्मक प्रभाव पर्न सक्ने भएकोले यस परिस्थितीबाट किसानलाई मुक्त गर्न अनुरोध गरिएको छ । कृषक र प्रभावित समुदायमा उद्धार र राहत कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्न विज्ञप्ति मार्फत सरकारलाई ध्यानआकर्षण गराएको छ ।
