सुनिल चौधरी
झुम्का, फाल्गुन १६ । सामुदायिक बिद्यालयको सक्षमता र गुणस्तर सुधार गर्ने आधारभुत शिपका रुपमा नेपाल सरकारले बिशेष प्राथमिक्ताका साथ अगाडि बढाएको कार्यक्रम प्रभावकारी बनाउन प्रशिक्षण दिएको छ । रामधुनी नगरक्षेत्र र बराहक्षेत्र नगरका समुदायिक बिद्यालयका बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउन रामधुनी र बराहक्षेत्रका शिक्षक शिक्षिकाहरुलाई प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग विधि सम्बन्धि तिन दिने तालिम दिएको हो ।
ग्रामीण समाज उत्थान केन्द्र(आरएसडिसी) सुनसरीको आयोजनामा एक कक्षा देखि तिन कक्षामा पढ्ने बालबालिकाहरुको सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री तथा प्रयोगबारे शिक्षकहरुलाई सुक्रवारदेखि झुम्कामा तिन दिने तालिम दिएको कार्यक्रम संयोजक सिखा किरणले बताइन् । बिद्यालयहरुमा बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउनका लागि शैक्षिक सामाग्रीको प्रयोग तथा निर्माण आवश्यकतालाई पुरा गर्ने उद्देश्यले प्लान इन्टरनेशनल नेपाल सझेदारीमा तालिम संचालन गरिएको कार्यक्रम संयोजक किरणले जानकारी दिइन् ।
तालिममा स्थानीय स्रोत साधन उपलब्ध अनुसार प्रशिक्षण दिएका छन् । बालबालिकाहरुमा खेल तथा शैक्षिक सामाग्रीबाट सहज सिकाई हुने प्रशिक्षक सरु केसीले बताइन् । यसपद्धतीले बालबालिकामा सिकाई स्मरण बढ्ने, तालिमले एकदेखि तीन कक्षामा पढ्ने बालबालिकाहरुको बुझाईलाई प्रभावकारी बनाउँदै दिगो सिकाईकालागि सहयोगी हुने प्रशिक्षक केसीले बताइन् । तालिमबाट बालबालिकामा सिकाई उपलब्धिले रामधुनी नगरमा बालमैत्रि स्थानीय शासनको निरन्तरतामा सहयोगी भुमिका खेल्ने बालहेल्प डेक्सका सम्पर्क ब्यक्ति अमन ढुंगेलले बताए । यसप्रकारका प्रारम्भिक सिकाई तथा पढाई सन्दर्भ सामाग्री निर्माण र प्रयोग विधि सम्बन्धि तालिम आवश्यक्ता र प्राथमिक्तानै रहेको भन्दै ढुंगेलले बालबालिकामा नयाँ परिवर्तन आउने धारणा ब्यक्त गरेका छन् ।
नेपाल सरकारले प्रारम्भिक बाल शिक्षा तथा विकास कार्यक्रमको सुदृढीकरण, शैक्षणिक ढाँचा, पाठ्य सामाग्री विकास, उत्पादन र वितरण, शिक्षकको पेसागत विकास र शैक्षणिक सहयोग, निरन्तर मूल्याङ्कन र उपचारात्मक सहयोग तथा अनुसन्धान, अनुगमन र मूल्याङ्कनलगायतका कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरिएका छन् । तालिममा रामधुनी नगरका ५ वटा सामुदायिक बिद्यालयका १० जना र बराहक्षेत्रका ६ वटा बिद्यालयका १० जना शिक्षक शिक्षिका सहभागी भएको कार्यक्रम संयोजक किरणले जानकारी दिईन् ।

