रामधुनी खबर संवाददाता
झुम्का, श्रावण २९ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औँ स्थापना दिवस रजत बर्ष मनाएको छ । १ नं. प्रदेश समितिले उदयपुरको उदयपुरगढी गाउँपालिकाको सभाहलमा रजत बर्ष सम्पन्न गरेको हो ।
राजा उदयचन्द्र सेनले शासन गरेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उदयपुरगढी गाउँपालिका हुन् । पूर्व मन्त्री तथा प्रदेश सांसद नारायण वुर्ज मगरको प्रमुख आतिथ्यतामा उदयपुरगढीको थप पर्यटन प्रवद्र्धन गर्न फोनिज प्रदेश समितिले स्थापना दिवस तथा रजत दिवस मनाएको अध्यक्ष सन्तरवीर लामाले जानकारी दिए ।
फोनिजको रजत बर्षको अवसरमा गरिएको कार्यक्रमबाट फोनिज प्रदेश समितिले १२ बुदे उदयपुरगढी घोषणापत्र जारीगर्दै पहिचानको आन्दोलनलाई सम्बोधन गर्न जोडदार माग गरेका छन् । “लिम्बुवान किरात” वा “किरात लिम्बुवान” नामाकरण गर्नु पर्ने माग गरिएको छ ।

सो नामाकरणका लागि आन्दोलनको क्रम्मा सहिद भएका लाजेहाङ (पदम लिम्बु) प्रति फोनिज कर्मीहरुले उच्च सम्मान ब्यक्त गरिएको छ । २०७९ चैत्र ५ गते प्रदेशको नामाकरण पहिचान, सभ्यता र ऐतिहासिक पृष्ठ भूमीको आधारमा माग राख्दै गरिएको आन्दोलनको क्रम्मा घाइते भई उपचारको क्रम्मा निधन भएका लाजेहाङलाई उच्च सम्मान ब्यक्त गरिएको हो ।
आयोजित कार्यक्रममा उपस्थित बक्ताहरुले पहिचानको आन्दोलन निर्णायक गर्न फोनिज कर्मीहरुले कलम सशक्त बनाएर अगाडि बढ्नु पर्ने धारणा ब्यक्त गरेका छन् । आदिवासीको अधिकारका सवाल राज्य संग हो । राज्यले आदिवासीहरुको अधिकारमा पछाडि पारेको छ । तसर्थ १ नं. प्रदेशमा पहिचानको आन्दोलन निर्णायक हुनुपर्छ भन्दै फोनिज केन्द्रिय सचिव यमन दनुवारले धारणा ब्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघमा आदिवासी जनजाति पत्रकारहरुको नेतृत्वको आवश्यक रहेको बताएका छन् । तर ३६४ दिन आदिवासी भन्ने एक दिन अन्यन्त्र बरालिने कारणले गर्दा आदिवासीहरुको नेतृत्व हुन नसकेको केन्द्रिय सचिव दनुवारले उठान गरेका छन् ।
फोनिजको रजत बर्ष मनाउँदै जारी गरेको घोषणा पत्रमा आदिवासी जनजातिहरुको साँस्कृतिक भूमि, दाहसंस्कार स्थल, समाधिस्थल, पुरातात्विक स्थलमा राज्यपक्षबाट हुने अतिक्रमणको अन्तय गर्न माग गरेका छन् । पहिले मातृभाषाबाट नामाकरण गरिएका ठाउँहरुको स्थान नाम हाल अपभ्रंश गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुनरउत्थान र पुनरलेखन गर्न घोषणा पत्र जारी गर्दै माग गरिएको छ । उदयपुरगढी गाउँपालिका सम्म सडक स्तरोन्नती गर्नु पर्ने माग गरिएको छ ।
बि.स.२०२८ अघिसम्म उदयपुर जिल्लाको प्रशासनिक केन्द्र समेत रहेको उदयपुरगढीको विभिन्न वडामा रहेका पर्यटन स्थल प्रवद्र्धन गर्न प्रण गरिएको छ । पर्यटकीय स्थल पञ्चावती मन्दिर, भ्यु टावर, टुडिखेल, भूगोलपार्क, परेवा झरना, ताप्ली पोखरी, काभ्रेपानी महादेव,चुरुम्फा भ्यु एरिया, राजाजी मन्दिर, छेलो भञ्ज्याङ लगायतका धार्मिक तथा साँस्कृतिक स्थानहरुलाई प्रवद्र्धन गर्न प्रण गरेको छ ।
कार्यक्रमबाट पहिचान पत्रकारिता पुरस्कारले सुनसरीका धिरेन्द्र चौधरी र ओखलढुंगाकी विनुमाया राई सम्मानित भएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष जितबहादुर खड्का, गोमा कार्की, हिमा चेम्जोङले आफ्नो धारणा ब्यक्त गर्दै गाउँपालिकाका पर्यटक स्थलको बारेमा जानकारी दिएका छन् ।