राख संवाददाता
झुम्का, मंसिर १३ । लैङ्गिक हिंसा पहिचानगरी न्युनिकरण गर्ने उधेश्यले रामधुनीको लक्षित वर्ग टोल वस्तिमा अभियान संचालन गरिरहेको छ । रामधुनी नगरपालिकाको आयोजनामा महिला संघ संगठन अधिकार कर्मिहरुले अभियानबाट हिंसा हुने कारण तथा लुकेका समस्याहरुको बारेमा उठान भै रहेको छ ।
नगरमहिला समितिको सहजिकरणमा आइतवार रामधुनी वडा नं. २ मोची टोलमा आयोजित लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रममा मोची समुदाय बिभेदमा परेको उठान भएको छ । टोलका स्थानीयहरुको भेलाबाट समाजमा मोची समुदायलाई हेर्ने दृष्टि फरक रहेको बताए । सोच र व्यहारले अझै जातिय विभेदका समस्याहरु रही रहेकोले यसबाट हिंसा निम्तिन सक्ने धारणा ब्यक्त गरेका छन् । यसैगरी मोची समुदाय उपेक्षीतमा परेको जानकारी दिएका छन् । नगरपालिका तथा वडा कार्यालयबाट हुने विकासका कार्यक्रमहरुबाट उपेक्षित भएको बताए । वडा नं. २ मा धेरै विकासका कामहरु भए पनि मोचि टोलमा तुलनात्मक रुपमा हुन नसकेको गुनासो गरेका छन् । वडाकार्यालयबाट सार्वजानिक कार्यहरु आयोजनाहुदा सो कार्यक्रमहरुको सुचना र सहभागीबाट बञ्चित हुने गरेकोले मोची समुदाय उपेक्षित भएको बताएका हुन् ।
यसैगरी अभियान संचालन गर्ने स्थान निणर्य भए पनि २ नं. वडा कार्यालयले वास्ता नगरेको महिला अभियान कर्मिहरुले जानकारी दिए । अभियानलाई प्रभावकारी बनाउन लक्षित वर्गको समुदाय टोल वस्तिमै गएर अभियान कार्यक्रम गर्ने निर्णय भएपनि सो अनुसार कार्यान्वयन नभएको नगर महिला समितिकी अध्यक्ष डायन्द्रा ढुंगानाको गुनासो रहेको छ । अभियान समुदाय टोल स्तरमै गएर आयोजना गर्दा प्रभावकारी हुने भन्दै अबका दिनमा सरोकारवालाले ध्यान दिनु पर्ने ढुंगानाको अनुरोध रहेको छ ।
मोची टोलको अभियान कार्यक्रममा डायन्द्रा ढुंगाना, कल्पना अधिकारी, सिता चौधरी, सोम कुमारी सुनुवार, गयावती चौधरी लगायतका महिला अधिकार कर्मिहरुको उपस्थिती थियो ।

