राख संवाददाता
झुम्का, पुष १ । निर्माण मजदुर संगठन नेपाल विजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) नगर समिति रामधुनीको चौथो अधिवेशन सम्पन्न भएको छ । दैनिक ज्यालादारी गर्ने निर्माण मजदुरहरुको हकहितकालागि क्यूपेक नेपालको सरोकार सुरक्षित कार्यस्थल र मर्यादित रोजगारको नारा सहित नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको हो ।
नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा श्रमिक, मजदुरको हकमा अधिकार संरक्षण हुनु पर्ने जोड दिएका छन् । भौतिक पुर्वाधार निर्माण गर्ने मजदुरहरु जोखिम पुर्ण रुपले काम गर्नु पर्ने भएकोले पेशा सुरक्षाकालागी त्रिपक्षिय समझौता अनुसार दुर्घटना विमाको जोडदार माग उठाएका छन् । नक्सा पासहुदाको अवस्थामा नगरपालिकाले घरधनीबाट लिइने करबाट मजदुरलाई विमा हुनु पर्नेमा जोड दिएका छन् । अधिवेशनबाट नगरमा मज्दुरको तथ्याङ्कीकरण लिएर परिचय पत्र वितरण, दक्षता तालिमको आवश्यक्ता रहेको जनाए । ठेकेदारहरु निर्माण व्यवसायी दर्ता गर्दा क्यूपेक नेपालको सिफारिस अनिवार्य गरिनु पर्ने अधिवेशनबाट माग गरेका हुन् ।
मजदुरहरुको संगठन क्यूपेक नेपालको माग जायज रहेकोले रामधुनी नगरपालिका नीतिगत रुपमै सम्बोधन गर्न तयार रहेको नगरप्रमुख चौधरीले बताए । क्यूपेक नेपालले नगरपालिकाको समन्वयमा नीतिगत रुपमा अधिकार सुरक्षित गर्दा सुरक्षित कार्यस्थल र मर्यादित पेशाको रुपमा उपलब्धि पाउने जानकारी दिए । राजनीतिक दल लगायतका टाठा बाठाले मजदुरलाई भजाएर खान मात्र खोजिएकोले अधिकारबाट बञ्चित हुनु परेको भन्दै नगरप्रमुख चौधरीले कार्यक्रममा बोल्दै त्यस्ता ब्यक्तिहरुबाट मजदुरलाई बचाउन क्युपेकले नीतिको दस्तावेज ल्याउनु पर्ने जानकारी दिए । दस्तावेज नगरपालिकाले नगर सभाबाट पास गर्ने र मजदुरको अधिकार संरक्षण गर्ने बताए ।
मजदुर मर्यादित पेशाकालागी ठेकेदारले गुणस्तरीय पुर्वाधार विकासमा ध्यान र पुरुष जस्तै महिला मजदुरको समान रुपले ज्याला उपलब्ध गराउनु पर्ने नगर उपप्रमुख सविना चौधरीले सुझाव दिइन् । निर्माण कार्यमा महिला मजदुर र पुरुष मजदुर एउटै काम गरेपनि ज्याला फरक रहेकोले युनियनबाट हेर्नु पर्ने सुझाव दिदै भुकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माण मजदुर कतै चुक्न नहुने उपप्रमुख चौधरीले भनाई राखेकी हुन् । मजदुरको हकमा रामधुनी वडा नं. ५ दक्षता तालिमको आयोजना गरिसकेको र आगामी दिनमा समेत बजेट योजना ल्याउने वडाअध्यक्ष डेगराज फुयालले कार्यक्रममा प्रतिबद्धता जनाएका छन् । दुर्घटना विमाको लागि वडाबाट व्यहोर्नु पर्ने सहयोगकोलागि समेत पछि नहट्ने वडाअध्यक्ष फुयालले आश्वासन दिए ।
यसैगरी कार्यक्रममा मजदुरको हकहितका सवालमा क्यूपेक जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठ, झुम्का उद्योग बाणिज्य संघबाट दुर्गा फुयाल, क्युपेक जिल्ला सचिव कमल काफले, सह सचिव श्यामकुमार चौधरीले बोलेका थिए । कार्यक्रम क्यूपेक रामधुनी अध्यक्ष प्रितमलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको छ । चौथो अधिवेशनले पुनर गठन हुने अध्यक्ष चौधरीले रामधुनी खबर पत्रिकालाई जानकारी दिए ।
