राख संवाददाता
झुम्का,पुष २१ । झुम्का बजार क्षेत्रमा राजमार्ग छेउमै मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन सूचना गरेपनि अटेर हुँदा रामधुनी नगरपालिकाबाट बिहिवार अनुगमन गरेको छ । कार्यपालिकाको बैठक २०७९ मंसिर २७ गतेको निर्णय अनुसार १५ दिने सूचना निकाल्दै पुष १५ गते सम्ममा हटाउँन माइकिङ्ग सुचना सहित पूर्व जानकारी गराएपनि बेवास्ता भएको थियो । पूर्व सूचना र प्रत्यक्ष अनुगमन र अनुरोध पछि पुनः बेवास्ता भए कार्वाही गरिने सचेत गराएको छ ।
राजमार्ग सडकको दायाँ वायाँ ८२ फिट भित्र रहेको मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन नगरपालिकाको आग्रह रहेको छ । तथापी पनि सूचनाको अटेर र बेवास्ताले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, झुम्का उद्योग बाणिज्य संघ, सम्बन्धित वडा अध्यक्ष लगायत प्रहरी, ट्राफिक संयुक्त रुपले पसल–पसल गएर अनुरोध गर्न बाध्य भएको छ ।
संयुक्त अनुगमनले अवागमन अबरुद्ध हुनेगरी बजार क्षेत्रमा फलफुल पसल, चटपटे ठेला, मासु पसल, निर्माण सामाग्री, पसलका सामान बाहिर सम्म राखेको पाएको छ । यसैगरी ग्यारेज, हार्डवेयरका सामान सडक छेउमै छरपस्टल राखेको भेटिएको छ ।
फुटपाथमा रहेका पसल राख्न सटरहरु छन्, कृषि बजार छन्, नहरको डिलमा राख्न सकिने बिकल्पहरु छन् राजमार्ग छेउमै राखेर आवागमनलाई असहज बनाउँन नहुने प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापाले बताउँनु भयो । अधिकृत थापाका अनुसार १५ दिने सूचाना गरेका छौ, बेवास्ता भएपछि प्रत्यक्ष अनुरोध पनि ग¥यौ, पुनः बेवास्ता भयो भने स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम बाध्यतात्मक कारवाही गर्नु पर्ने अधिकृत थापाले जानकारी दिनु भयो ।
झुम्का बजार क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित तथा आवागमनलाई सहज बनाउँन सबैको दायित्व रहेकोले यस अभियानमा सहयोगका लागि मेयर शंकरलाल चौधरीले अनुरोध गर्नु भयो । फुटपाथ पसलले बजार क्षेत्रमा सम्भावित दुर्घटना बढाएको र यहा फोहोर समेत बढाएकोले हटाउँन आयश्यक रहेको उपमेयर तरा थापाले बताउँनु भयो ।
झुम्का बजारको मुख्य क्षेत्र राजमार्ग सडकको दायाँ वायाँ संरचना र फुटपाथ पसलका कारण अवागमन असहजले दुर्घटनाको सम्भावना, बजार अव्यवस्थित, बजारमा फोहोर बढ्दै गएको छ । बजार अब्यवस्थित र फोहोर बढ्दै गएको गुनासो पछि नगरपालिकाले अभियान थालेको हो ।
