रामधुनी खबर संवाददाता
झुम्का, फागुन १४ । दादुरा–रुबेला खोप लगाउन रामधुनी नगरमा फागुन २२ गते देखि २९ गते सम्म संचालन हुने भएको छ । बालबालिकाहरुमा लाग्ने दादुरा–रुबेला रोग बिरुद्धको खोप संचालन गर्ने रामधुनी नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको हो ।
नगरप्रमुख शंकरलाल चौधरीको सभापतित्वमा खोप सम्बन्धी अभियान प्रभावकारी रुपले संचालन गर्न सोमवार पालिका स्तरीय अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले सहजिकरण गर्दै दादुरा–रुबेला रोग बिरुद्धको खोप ९ महिना देखि १५ बर्ष सम्मका बालबालिकालाई लगाउने छन् भने यस बर्ष कक्षा १० सम्मका बिद्यार्थी बालबालिकालाई अनिवार्य रुपले खोप लगाउने जानकारी दिए । उमेर बढी भएपनि खोप लगाउन मिल्ने जनाएको छ ।
रामधुनी नगरमा १५ हजार बालबालिकाहरुलाई खोप लगाउने छन् । गत बर्षमा १५ हजार बालबालिकालाई खोप वितरण लक्ष्य लिए पनि १६ हजार बालबालिकाहरुमा खोप वितरण भएको जनाए । खोप वितरण प्रभावकारीका लागि रामधुनी नगरको ६७ वटा स्थानबाट वितरण हुने छन् । खोपका लागि बिद्यालय, स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य चौकीबाट बितरण गर्ने जनाएको छ । त्यसैगरी छुट भएका नियमित खोप डिपिटि, हेप बि, हिब पिसिभि र आइपिभि खोप ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरु सबैलाई नियमित खोपको र अन्य छुट खोपहरु नियमित खोप मार्फत पुरा गराउने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
वडा अध्यक्ष कमल कार्कीले बालबालिकाहरुको वडागत तथा स्वास्थ्य स्वयमसेविकाहरुको कार्यक्षेत्रमा पनि बालबालिको यकिन तथ्याङ्क नरहेको बताए । यसले खोप लगाउन छुटेका बालबालिकाहरुलाई कसरी समेट्न सक्ने भन्दै यसका लागि स्वास्थ्य शाखा सचेत हुनुपर्ने जनाएको छ ।
खोप लगाउदा सामान्य प्रकारका अवाञ्छित घटनाहरु देखिदा कुनै डर मान्नु नपर्ने समेत गोष्ठिीबाट जानकारी दिएका छन् । भ्याक्सिन लगाईसकेपछि शरीरमा अन्तरनिहित प्रतिरोधात्मक शक्तिले सो संग प्रतिकृया गर्दा समान्य असर देखिन सक्ने जनाएको छ । खोप लगाउदा समान्य ज्वरो आउन सक्ने, सुई लगाएको ठाउँमा समानय दुख्ने, रातो हुने वा सुन्निन सक्ने, बच्चाहरु केही समय रुने झिँजो मान्ने लगायतका सामान्य असर देखा पर्न सक्ने जनाएको छ । यस्ता घटनाहरु स्थानीय स्तरमा नै उपचार तथा व्यवस्थापन गर्न सकिनेस्वास्थ्य शाखा प्रमुख नगेन्द्र पौडेलले बताएका छन् ।
