रामधुनी खबर संवाददाता
झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम न्युनिकरणका लागि वडाबाट वडाका १६० जनालाई वितरण गरेको हो ।
रामधुनी नगरपालिकाका नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यता तथा रामधुनी–४ का वडाध्यक्ष कमल कार्कीको सभाध्यक्षतामा सम्पन्न भएको थियो । वडा कार्यालयको सभाहलमा एक कार्यक्रम गरी वितरण गरेको वडा कार्यालयले जानकारी दिएका छन् ।
ब्ल्याङ्केट पाएपछि जेष्ठ नागरिक तथा विपन्न परिवारका लाभग्राहीहरूले चिसो मौसममा न्यानो रहन सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरेका छन् ।

नगरप्रमुख चौधरीले जाडो मौसममा विशेषगरी जेष्ठ नागरिक, विपन्न तथा दलित समुदायका नागरिकलाई चिसोबाट जोगाउन वडाकार्यालयको सहयोग सराहनीय रहेको बताउनु भयो । लक्षित वर्गका नागरिकको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा पनि आवश्यक सहयोगका कार्यक्रमलाई निरन्तरता दिने धारणा व्यक्त गर्नु भएको छ ।
उहाँले रामधुनी नगरको विकासमा नगरपालिकाबाट अथकप्रयास भैरहेको बताउनु हुँदै रामधुनी मन्दिरको पर्यटन विकास, १९ सयाको बलौरी अस्पताल, धुरहा फिल्डमा स्टेडियम निर्माण, छप्की पोखरीमा चिल्ड्रेन पार्क, झुम्का बजार जोड्ने भित्रि सडक पिचले नगरवासीहरुलाई सहजता दिन विकास निर्माण सम्पन्न भैरहेको जानकारी दिनु भएको छ ।

वडाध्यक्ष कार्कीले वडामा रहेका जेष्ठ नागरिक, गरिब तथा दलित समुदायका नागरिकलाई चिसोबाट सुरक्षित राख्न सहयोग पुगोस् भन्ने उद्देश्यले ब्ल्याङ्केट वितरण गरिएको बताउनु भयो । उहाँले लक्षित वर्ग पहिचान गरी आवश्यकताका आधारमा सहयोग उपलब्ध गराइएको जानकारी दिनु भयो ।
वडाध्यक्ष कार्कीका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षमा यसअघि ८० जनालाई इलेक्ट्रिक चुलो, १७ जनालाई कलट्युवेल तथा नौवटा कीर्तन समूहलाई विभिन्न बाजागाजा तथा साउण्ड सामग्रीसमेत वितरण गरिसकेको बताउनु भयो ।



