रामधुनी खबर संवाददाता
झुम्का, असोज २४ । स्वर्णिम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामधुनी–५, झुम्काको १७औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ को आयव्यय विवरण प्रस्तुत गर्नुका साथै उत्कृष्ट कारोबार गर्ने नौ जना सदस्यलाई सम्मान गर्दै संस्थाको साधारण सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष कपिल खड्काको अध्यक्षता तथा पूर्व अध्यक्षहरूको आतिथ्यतामा सहकारीको आफ्नै भवन परिसरमा आयोजित सभामा अध्यक्ष खड्काले संस्थाको सांगठनिक गतिविधि समेटिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । संस्थाको आर्थिक अवस्था, बचत तथा ऋण कारोबार र आयव्यय विवरण लेखा समिति संयोजक दुर्गा फुयालले प्रस्तुत गर्नुभएको छ ।
सहकारीले प्रत्येक वर्ष नियमित तथा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई सम्मान गर्दै आएको छ । यस वर्ष बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने नौ जना सदस्यलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा अम्बिका चौधरी, सुमित्रा चौधरी, उर्मिला चौधरी, तेजबहादुर थापा, देवनारायण साह, ईश्वर श्रेष्ठ, डिल्लीराम पौडेल, रीता श्रेष्ठ र सुजिता साह रहेका छन् ।

आर्थिक मन्दीले सहकारी क्षेत्रमा समेत प्रभाव पारेको अध्यक्षको भनाइ
सभामा अध्यक्ष खड्काले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै विश्वव्यापी आर्थिक मन्दीका कारण नेपालको अर्थतन्त्रमा समेत गम्भीर प्रभाव परेको बताउनु भयो । आर्थिक मन्दीले समग्र वित्तीय क्षेत्र प्रभावित भएको उल्लेख गर्दै सहकारी क्षेत्र पनि त्यसबाट अछुतो रहन नसकेको उहाँको भनाइ रहेको छ । अध्यक्ष खड्काले सहकारी क्षेत्रबाट सरकारले कर असुल गर्ने तर सहकारी प्रतिको दायित्व पूरा गर्न पर्याप्त ध्यान नदिएको भन्दै गुनासो समेत व्यक्त गर्नुभएको छ ।

बचततर्फ ७ करोड ६२ लाख रुपैयाँभन्दा बढीको कारोबार
लेखा समिति संयोजक दुर्गा फुयालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा बचत संकलन तथा फिर्ता र ऋण लगानी तथा असुलीतर्फ उल्लेख्य कारोबार गरेको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थाले एक आर्थिक वर्षमा ७ करोड ६२ लाख ३५ हजार १३५ रुपैयाँ बचत संकलन गरेको छ भने ७ करोड २ लाख ६३ हजार ७१८ रुपैयाँ बचत फिर्ता गरेको छ । नियमित तथा ऐच्छिक बचततर्फ ४ करोड ८४ लाख ५५ हजार ७८१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी, संस्थाले ऋणतर्फ ५ करोड ४६ लाख २९ हजार ८०० रुपैयाँ लगानी गरेको छ भने ५ करोड ३६ लाख ७५ हजार ९६२ रुपैयाँ ऋण असुल गरेको जनाएको छ। हाल संस्थाको ४ करोड ७० लाख ९२ हजार ३८० रुपैयाँ ऋण लगानीमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहे पनि संस्थाले आर्थिक वर्ष २०८२÷०८३ मा १० लाख १० हजार ३३९ रुपैयाँ कोषमा जम्मा गर्न सफल भएको लेखा संयोजक फुयाले जनाएको छ ।
१ हजार ३५६ शेयर सदस्य
संस्थामा हाल १ हजार ३५६ जना शेयर सदस्य रहेका छन्। संस्थाको शेयर पुँजी १ करोड २१ लाख १६ हजार रुपैयाँ रहेको छ। संस्थाको व्यवस्थापकीय जिम्मेवारी महेन्द्र चौधरीले सम्हाल्दै आउनुभएको छ ।
साधारण सभामा पूर्वअध्यक्ष हर्षलाल चौधरी, निवर्तमान अध्यक्ष सुजितकुमार राय, सदस्य गोपाल नेपाल र अञ्जु चौधरीले संस्थाको गतिविधि तथा आगामी कार्यदिशाका विषयमा आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
सभामा संस्थाका उपाध्यक्ष सन्दीप गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो भने रिजाल यादवले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

