राख संवाददाता
झुम्का, कार्तिक २४ । सुखराइत पर्वको जमजितियाको दिन देखि कार्तिक पुर्णिमा सम्म मनाउँने मौलिक तथा साँस्कृतिक समाचकेवा पर्व खेल यस बर्ष चन्द्रगहणले बुधवार मात्रै विर्सजन गरेका छन् । दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीकका रुपमा मनाइने सामाचकेवा पर्व खेल थारु पौराणिक समधौन गीत गाउँदै रामधुनी वडा नं.२ धमौरा टोलमा सामुहिक विसर्जन गरेका हुन् ।
विवाह गरी वेटीलाई ससुराली विदाई गर्ने वेलामा गाउँने समधौन गीत अनुसार समाचकेवामा पनि विदाई गर्ने बेलामा समधौन गीत गाउँदै विसर्जन गरेको गीतहाइर हिरा देवि थरुनीले बताइन् । थरुनीका अनुसार जमजितियाका दिन जन्मको गीत गाउँने, समा खेल्न जादा समाखेली गीत गाउँने र विसर्जन गर्ने बेलामा समधौन गीत गाउँने परम्परा रहेको गीतहाइर थरुनीको भनाई छ । दाजू भाईको सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित मनाईने पर्वमा वालवच्चा नहुनेले भाकल गर्ने समेत महत्वपूर्ण उधेश्य रहेको थारुनी जानकारी दिइन् ।
गाउँभरीका विभिन्न समुहमा खेल्ने एकै ठाउँ भेला भएर टोलको पश्चिम मुन्निबाबा ग्रामथान नजिकै पौराणिक साँस्कतिक पोखरीमा विसर्जन गरेका छन् । यस बर्ष धमौरा टोलमा सामुहिक रुपमा ३७ डाला समाचकेवा विदाईगरी विसर्जन गरेको मुन्नीबाबा ग्रामथानका गहदार देवराज चौधरीले बताए । उन्का अनुसार पौराणिक साँस्कृतिक पोखरी सार्वजानिक पोखरी रहेको बताए । धेरै समय पहिले धार्मिक कार्य गर्न तथा गाई बस्तु पानी खानका लागि बाबापुर्खाहरुले बनाएको पोखरी रहेको जानकारी दिए । सो पोखरीमा जितिया स्नान, समाचकेवा विसर्जन लगायतका सामाजिक कार्यहरु गर्दै आएको गहदार चौधरीले बताए ।
समाचकेवा पर्वले प्रत्येक साँझ थारु गाउँहरु संगितमय बन्ने गरेका छन् । समूहमा दीदिबहिनीहरु भेला भएर सार्वजनिक चौक तथा स्थलमा समाचकेवाको गीत गाउँने गरेकाले गाउँहरुको परम्परा समेत भएका छन ्। कात्तिक पूर्णिमासम्म मनाइने समा चकेवा समूहगत रुपमा खेल्ने परम्परा छ । सुखराइतको जमजितियाको रातिबाट विधिवत रुपमा सुरु गरी कात्तिक पूर्णिमाको मध्यरातिमा बिसर्जन गरिन्छ ।
रक्षा बन्धन तथा भाई टीका पर्व भ्याउन नसकेका दाजुभाई तथा दिदीबहिनी समेत यस पर्वमा सहभागी हुनुपर्ने मान्यता रहेको छ । नयाँ पुस्ताका महिलालाई माटाको मूर्ति बनाउने कलाको ज्ञानसमेत यस पर्वको माध्यमबाट प्राप्त हुने विस्वास मानिन्छ ।
समा विसर्जन कार्यक्रममा ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरी, अभियान कर्ता महिनारायण चौधरी(दास) लगायत ग्रामथानका गहदारहरुको उपस्थिती रहेको थियो ।
