सुनिल चौधरी
झुम्का, माघ १ । आज माघे संक्रान्ति अर्थात तिलासंक्राइत पर्व हर्षोल्लासका साथ मनाइँदै छ । माघ महिनाको पहिलो दिन मनाइने तिलासंक्राइतलाई मकर संक्रान्ति, माघे संक्रान्ति, माघी तथा खिचरीको नामले मनाउँने गर्छन् ।
पूर्व झापा, मोरङ्ग, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारु समुदायले तिलासंक्राइत, मध्य चितवनका थारु समुदायले खिचरा, नवलपरासी रुपन्देहीका थारु समुदायले खिचरीर खिचडी तथा दाङ, सुर्खेत, बर्दिया, कैलाली, कन्चनपुर लगायतका थारु समुदाय माघ पर्वको रुपमा मनाउँने गरेका छन् ।
तिलासंक्राइत पर्व पूर्वमा थारु समुदायले प्रमुख चाँडकै रुपमा मनाउने गरिन्छ । माघ १ गतेका दिन नयाँ अन्नबालीको सख्खर मिश्रित परिकारहरु बनाएर कुल देवतालाई चढाई प्रसादको रुपमा ग्रहन गर्ने धार्मिक मान्यता रहेको छ । खेतमा उब्जा भएका बिशेष तिल तिलको लड्डु (तिल्वा लड्डु), र धानको उल्वा चामलको भुजाको लड्डु (मुरहीके लड्डु) परिकार बनाएर कुल देवतालाई विधिवत चढाउँने परम्परा रहेको छ । पर्वमा नयाँ अन्नबालीको परिकाका साथै अन्दी चामलको चिचरीभात, माछा, घिउ, चाकु, तरुल, तिल खिचडीभात खाई मनाइन्छ ।
तिलासंक्राइतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । अहिले सबै जातजातीले यो पर्व विधिपुर्वकनै मनाउने गरेको छ । विशेष गरी २०५९ सालमा सरकारले माघे संक्रान्ति अर्थात तिलासंक्राइतमा सार्वजनिक बिदाको व्यवस्था गरेपछी सबै जातजातिले मनाउँन थालेको हो ।
तिलासंक्राइत पर्व सम्पूर्ण नेपालीले मनाउँदै आएता पनि थारु समुदायले अन्य समुदायकोे भन्दा फरक तरिकाले मनाउँने गरेकाले थारु समुदायमा बिशेष मौलिकता र महत्व बोकेको पाइन्छ् । पर्व मनाउँने थारु समुदायमा मौलिक संस्कार अनुसार तिला संक्राइतको एक दिन अगावै तिललाई भिजाएर वाफी फेरी घाममा सुकाई ढिकीमा कुटेर त्यसको कालो भुस सबै निकाली र चामललाई उल्वा गरी उल्वा भन्नाले वाफीने प्रकृया, सोही उल्वा चामल तयारगरी एकाविहानै भुटेर तथा उल्वा चामललाई भुटेर भुजा बनाई सख्खरमा मिश्रणगरी लड्डु बनाई जस्लाई तिल्वा लरु, मुरहीकेलाई भन्ने गरिन्छ यस लड्डुलाईृ सबभन्दा पहिले कुल देवतालाई चाढाईन्छ । तत्पश्चात घरको स–परिवार नदी, तलाउ, पोखरी, जलाशयमा स्नानगरी परसादीको रुपमा खाने गरिन्छ ।
तिलासंक्राइतको धार्मकि, साँस्कृतिक, बैज्ञानिक महत्व रहेको छ । पर्वमा खाइने तिल, भुजा, तरुल, चिचरीभात, माछा, कन्दमुल, बिरम्ला, तिलखिचडी आदी परिकार खाँदा शरीरलाई अत्यन्त पौष्टिक हुन्छ । जाडोमा शरीरलाई आवश्यक पर्ने तापक्रम बनाई राख्ने हुन्छ ।
ज्योतिष शास्त्र अनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भन्ने गरिन्छ । ज्योतिषीय दृष्टिकोणमा सूर्यले धनु राशिबाट मकर राशिमा संक्रमण गरेको दिन भएकाले यस दिनको नाम मकर सक्रान्ति रहन गएको हो ।
सूर्यको उदयबिन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रुपमा दिन लामा हुने र तापक्रममा बृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने गर्दछ । त्यसैले यस दिनको छुट्टै खगोलिय महत्व छ ।
त्यसैले कृषि पेशामा रहेका थारु समुदाय अवको दिन लामा हुने र खेतीपातीमा दिनभरिमा धेरै काम हुनेहँुदा थारु कृषकहरु हर्षोल्लासका साथ यो पर्व मनाउँने गरिन्छ ।