रामधुनी खबर संवाददाता
झुम्का, मंसिर ३ । अस्ताउँदो सूर्यलाई अर्घ दिदै झुम्का छठघाटमा तेस्रो दिनको छठ पर्व मनाइएको छ । चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुहरुले झुम्का छठघाटमा व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।
श्री छठमाता सेवा समिति रामधुनी नगर समितिले छठघाटमा रामधुनी नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमगरी छठपूजालाई रौनक बढाएको छ । कार्यक्रममा नगर प्रमुख चौधरीले झुम्काको छठपूजा नगरकै पहिचानको रुपमा रहेको बताउनु भयो । छठपूजा संगै लाग्ने मेलामा धेरै भन्दा धेरै श्रदालु भक्तजनको भिडभाड तथा उपस्थिती रहने भएकोले यहाँ छठघाटलाई थप व्यवस्थित गर्नका लागि नगरपालिकाबाट सहयोग रहने प्रतिबद्धता गर्नुभयो ।
छठपर्व धार्मिक आस्थाले महत्वपूर्ण रहेकोले यस पर्वको आस्था बढ्दै गएको उपप्रमुख तारा थापाले बताउनु भयो । छठपर्वको आस्थाले सबै समुदायले मनाउँदै र अपनाउँदै गएको छ । यसरी रामधुनीको झुम्कामा पनि छठपर्व मनाउने व्रतालुहरु बढ्दै गएको छ । तसर्थ छठघाट व्यवस्थित गर्नुपर्ने अवश्यक्ता रहेकोले यसका लागि नगरपालिकाबाट योजना सहितको रकम विनियोजन गर्ने उपमेयर थापाले प्रतिबद्धता गर्नुभयो ।
झुम्का बजारमा लाग्ने छठघाट व्यवस्थित गर्दै रामधुनी मन्दिर संग जोडेर धार्मिक पर्यटनको विकासमा नगरपालिका अग्रसर हुनुपर्ने रामधुनी १ नं. वडाका वडा अधयक्ष महेश चौधरीले उठान गर्नुभयो । यस बर्ष छठपर्व सुरक्षा सतर्कताका लागि थप बिशेष रुपले पहल रहेको जानकारी दिनुभयो । गत बर्षहरुमा भए गरेको कमी कमजोरीलाई मध्यनजर गर्दै सबै पक्षबाट सुरक्षाका लागि पहल रहेको बताउनु भयो ।
श्री छठमाता सेवा समिति रामधुनी नगर समितिको अध्यक्ष मिलन रौनियारको सभापतित्वमा आयोजित कार्यक्रममा छठपर्वको धार्मिक महत्वको बारेमा भोला रौनियारले जानकारी दिएका थिए । धार्मिक महत्वको बारेमा बताउदै रौनियारले छठघाट व्यवस्थितका लागि स्थानीय सरकारले ध्यानदिनु पर्ने बताउनुभयो ।
सेवा समितिले झुम्का स्थित सुनसरी मोरंग सिंचाई आयोजनाको कोशी नहरको किनारमा १४५ छठघाट निर्माण गरी छठपूजा मनाउदै आएको छ । कार्यक्रममा समितिका उपाध्यक्ष कमल रौनियारले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा रातभर भक्ति संगीत कार्यक्रम रहने छ । भक्ति संगीत कार्यक्रममा भारतको कलकताबाट आएका कलाकारहरुको प्रत्यक्ष बाद्यबाधन सहित प्रस्तुती तथा गायिका अनुमा चौधरीको प्रस्तुती रहने आयोजक समितिले जानकारी दिएको हो ।
