रामधुनी खबर संवाददाता
झुम्का, मंसिर १३ । रामधुनी ८ र ९ नं. वडावासीहरुमा स्वाथ्य परामर्श दिदै बुधवार मुटु तथा स्त्रीरोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविरबाट २ सय १९ जनाले स्वास्थ्य लाभ लिएको आयोजक समितिले जानकारी दिएको छ ।
नगर उपप्रमुख तारा थापाको प्रमुख आतिथ्यतामा शिविर उद्धघाटनगरी मुटु र स्त्री रोग सम्बन्धि सेवा उपलब्ध गराएको छ । शिविरबाट निःशुल्क सेवा लिएर बिरामीहरुमा रोग संग लड्ने थप क्षमता प्रदान हुँदै स्वास्थ्य रहन सहयोग मिल्ने उपप्रमुख थापाले धारणा ब्यक्त गर्नुभयो ।
रामधुनी नगरको ग्रामिण क्षेत्र रहेको रामधुनी ८ र ९ नं. वडाका वडावासीहरुमा बिशेष आर्थिक बिपन्न परिवारका बिरामीहरुलाई स्वास्थ्य उपचारको पहुच पु¥याउँन शिविर गरेको रामधुनी वडा नं. ९ का वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिनुभयो । रोगलाई समयमै उपचार गर्दा रोग संग जित्न सकिने भएको यस गाउँ क्षेत्रमा शिविरको आवश्यक्ता महशुस गर्दै सेवा दिने भएको वडाअध्यक्ष चौधरीले बताउँनुभयो ।
रामधुनी ८ नं. वडाअध्यक्ष शुरेन्द्र सिंहको सभापतित्वमा आयोजित शिविरमा नोबेल अस्पताल बिराटनगरबाट आएका डक्टरहरुबाट सेवा प्रदान गरेको छ । मुटु रोगका डक्टर कसान्त कटुवाल, दिपकराज बराल रहेका थिए । स्त्रीरोग सम्बन्धि डक्टर दिपाली चौरसियाले बिरामीहरुमा जाँच गरेको नोवेल अस्पतालका मार्केटिङ नविन दाहालले जानकारी दिए ।
शिविरबाट इसिजी, भिडियो एक्सरे, इको, ल्याब परिक्षण, पाठेघर सम्बन्धि जाँच सेवा दिएका थिए । शिविरका लागि सेभ द अर्थ सुनसरी, इटिसि नेपाल, एन.आर.एन.अस्ट्रेलियाले सहयोग गरेको आयोजक समितिले जानकारी दिएको छ । शिविरमा सहभागी डक्टरहरुलाई सेभ द अर्थले सम्मान समेत गरेको थियो । शिविर रामधुनी वडा नं. ८ को स्वास्थ्य चौकीमा भएको बिजय चौधरीले जानकारी दिए ।